वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाले सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना माथि बुधबार डोजर चलाएको छ । गाउँपालिकाले बुधबार मधुबनी चौकमा डोजर चलाएको छ ।
सडक अतिक्रमण गरि बनाइएकाे संरचना र माटाे पुरेका कारण पानीकाे निकास रुकेपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे निर्देशनमा गाउँपालिकाकाे जेसिबिबाट साे संरचानाहरु हटाइएकाे हाे ।
मुलुकी देवानीसंहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य सडकमा बनेको संरचना हटाउन डोजर लगाइएको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए ।
पटक–पटक सूचना दिँदा पनि अटेर गरी अवैध रुपमा निर्माण गरिएको संरचना नहटाएकाले बाध्य भएर सार्वजनिक संरचना हटाउन डोजर लगाउनु परेको अधिकृत कुशवाहको बताए ।
गाउँपालिकाकाे वडा नं. २ स्थित मधुवनी र पकहाँ चाैककाे सडक अतिक्रमण गरि बनाइएकाे संरचनाहरु हटाउनुकाे साथै सडक समेत सफाई गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।
सडक अतिक्रमणका कारण पकहाँदेखि वीरगंज जाने मुख्य कालाेपत्रे सडकमा पानी जम्नुकाे साथै हिलाे समेत भएकाे थियाे । सडक माथि बनेको संरचनाका कारण बर्सातको पानी बग्न नसकी पालिकाको सडक नै डुबानमा परी जनधनको क्षति पुग्ने देखिएकाले अवैधरुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन पालिकाले अभियान चलाएको अधिकृत कुशवाहाले बताए ।
साथै सडक अथवा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका सम्पूर्ण संरचना हटाउन पालिकाले अनुरोध समेत गरेको छ । नहटाए पालिकाले बाध्य भएर डोजर चलाउने उपाध्यक्ष सर्फुन् नेशाले बताइन् ।