वीरगञ्ज । जनकपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा जनकपुर क्रिकेट एकेडेमीलाई पराजित गर्दै नेशनल इन्फोटेक कलेज (एनआइ) विजयी भएको छ । शुक्रवार जनकपुरमा भएको प्रतियोगितामा जनकपुरलाई ९ रनले पराजित गर्दै एनआइ विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको एनआइले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाउँदै १ सय १९ रन जोड्यो । एनआइका लागि रुहुल हकले ५२ बल खेलेर दुई छक्का र दुई चौकाको सहयोगमा सर्वाधिक ४४ रन जोडे । त्यस्तै नितेश चौधरीले २५ बल खेलेर एक छक्का र एक चौकाको सहयोगले २१ रन जोडे । त्यस्तै सेराजुल आलमले १३ बलमा एक चौका प्रहार गर्दै १८ रन जोडे ।
जवाफी ब्याटिङमा उत्रेको जनकपुरले भने २० ओभरमा केवल १ सय १० रन बनाउन सक्यो । त्यसको लागि दीपक यादवले ४१ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३२ जान बनाए । त्यस्तै मनोज मण्डलले चार छक्का र एक चौकाको सहयोगमा २९ र अभ्नित रायले २५ बलमा १३ रन जोडे ।
बलिङ तर्फ एनआइका सरिफ अन्सारीले सर्वाधिक ३ विकेट लिए । चार ओभर फालेर ११ रन खर्चिँदै उनले ३ विकेट लिएका हुन् । त्यस्तै सेराजुल आलम, अहसाब अन्सारी र एमडी सरिफ अन्सारीले २/२ विकेट लिए । त्यस्तै जनकपुरका लागि अमित महराले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभर खेलाएर १४ रन खर्चिँदै ३ विकेट लिएका हुन् । त्यस्तै दीपक यादव र अमित मण्डलले २ र रोहण यादवले १ विकेट लिए ।
खेलमा सर्वाधिक रन बनाउने एनआइका रुहुल हक प्लेयर अफ दी म्याच घोषित भए ।