वीरगन्ज । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ ।
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत दोस्रो दिन खरना मनाउने गरिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।
खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती (दिनभर उपवास) बस्ने गर्छन् । व्रतालुले कात्तिक शुक्ल पञ्चमीका दिन आज दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरूप खानेछन् ।
बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन अरबा-अरबाइन विधि पूरा गरे । शुक्रबार (चौथी तिथि) 'नहाय-खाय' विधि गर्ने ब्रतालुले कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा 'खरना' भनिन्छ ।
ब्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।