वीरगन्ज १८ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि ४ लाख रुख काटिने अनुमान गरिएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले १९०० हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्टका लागि कति रुख कटान हुन्छ भन्ने गणना भइरहेको भन्दै विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरुवात गरिएको बताए । अहिलेसम्म २ वटा ब्लकको गणना गर्ने काम सकिएको छ । दुईवटा ब्लकमा ६५ हजार रुख छन् । त्यसैलाई आधार मान्दा १२ वटा ब्लकमा ४ लाख रुख रहेको अनुमान गरिएको उनको भनाइ छ । यस्तै, विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको दाबी मन्त्री भट्टराईको छ । बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उनले बताए ।