बिरगन्ज – पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिकामा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ७० प्रतिशत रहेको छ । स्थानिय तहको स्थापना भएसँगै पकाहामैनपुर गाउँपालिका कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ ।
२०७३ सालदेखि स्थापना भएर काम शुरू गरेको गाउँपालिकाले २०७९ सालबाट कर्मचारी भर्ती केन्द्रको रूपमा परिचित हुन आएको छ । गाउँपालिकामा हाल स्वास्थ्य , शिक्षा बाहेक १० जना स्थायी , ४० जना करार र १५ जना ज्यालादारीका कर्मचारी कार्यरत छन् ।
विगत २ वर्ष अघिदेखि अधिकांश जनप्रतिनिधिका आफन्त , नातेदार , सहयोगी , साथीभाई भर्ती केन्द्र बनेको गाउँपालिकामा २ वर्षदेखि करार र अस्थायी कर्मचारीसँगै कर्मचारी भर्ती केन्द्रको रूपमा परिचित छ । गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित अध्यक्ष , उपाध्यक्ष , वडाध्यक्ष र बोर्ड सदस्य एउटै पार्टीबाट निर्वाचित भएकाहरुको हाबी रहेको गाउँपालिकाले कर्मचारीलाई व्यवस्थापन गर्ने विषयमा बहस चलाए पनि कार्यन्वयन शून्य छ ।
तथ्यांक अनुसार गाउँपालिकामा शाखा अधिकृतदेखि गोप्य शाखामा बस्ने अधिकांश कर्मचारी करारका छन् । गाउँपालिकामा १० जना स्थायी कर्मचारी छन् । बाँकी ४० जना करार र १५ जना ज्यालादारीमा काम गरिरहेका छन् । अधिकांश कर्मचारीहरुले मात्र नियुक्ति पत्र पाई काम गरिरहेका छन् । जसमध्ये लगभग १५ जनाले बिना तलबमा काम गरिरहेका छन् भने कतिपयले कहा काम गर्छन कुन कार्यालयमा खटेका छन् उनीहरूलाई नै थाह छैन ।