अछाम — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देशको अवस्था झन् बिग्रँदै गएको बताएका छन् । देश अस्थिरता र अराजकतातर्फ धकेलिएको बताउँदै ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुने बताए ।
महाकाली-मेची पदयात्रा अभियानको क्रममा एमाले अछामले शनिबार मंगलसेनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले राजा नभएको देशमा राजतन्त्र ल्याउने भन्दै धर्मका नाममा जनतालाई फाटो ल्याउनका लागि केही तत्व सक्रिय भएको बताए । बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी पदयात्रा पाँचथरको चिवाभञ्ज्याङसम्म रहने छ ।
विभिन्न ढंगले नेपाली जनतालाई विभाजित गर्ने, फाटो ल्याउने प्रयासहरू भइरहेको उनले बताए । ‘ती प्रयासहरू असंवैधानिक, अलोकतान्त्रिक, हिंसात्मक अवस्था निम्त्याउने खालका छन् । सरकारले यसलाई कुनै वास्ता नगरेर संरक्षण गरिरहेको छ,’ ओलीले जनसभालाई सम्बोधन गर्दै भने , ‘संविधानका उपलब्धिहरूलाई चुनौती दिँदै बलिदानपूर्ण लामो संघर्षबाट प्राप्त गरेका अधिकारहरू माघ १९ को जस्तै खोस्छौं भनेर लागि रहेका छन् । त्यति बेला त राजतन्त्र थियो । अहिले नभएको राजतन्त्रको नाममा यो सरकारका अस्पष्टताले ,यो सरकारका अकर्मण्यताले यस्ता तत्वहरू पनि सलबलाउन थालेका छन् ।’
यो अवस्थामा देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले मिसन ८४ लाई लक्षित गरेर हिंडिरहेको उनले बताए । नेकपा एमालेको समयमा विकासको लहर चलेको बताउँदै ओलीले अहिले त्यो समाप्त भएको बताए । उनले अहिलेको सरकारका कारण सुशासन पनि अन्त्य भएको बताए ।
‘सुशासन पुनर्स्थापना गर्नका लागि , विकासको अभियानलाई पुनः सञ्चालन गर्नका लागि , त्यसलाई तीव्रता दिनका लागि, नेपालबाट गरिबी, अभाव, भोकमरी हटाउनका लागि, राष्ट्रियता र विकासको सवाल, रोजगारीका सवाल, आधुनिकीकरणका सवाल, शिक्षा, स्वास्थ्यका सवाल बोकेर एमाले हिँडिरहेको छ,’ ओलीले भने, ‘यस अवस्थालाई देशबाट मुक्त गर्नका लागि नेकपा एमाले चुप लागेर बस्न सक्दैन ।’
एमालेले सरकार छोडेपछि देशको अवस्था खस्किएको उनले बताए । ‘अहिले देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र मौलाएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास गराइरहेको छ,’ उनले भने, ‘यो अवस्था परिवर्तन गर्नका लागि हामीले देख्यौं, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।’
जनसभाको अवसरमा एमाले अछामका सह-इञ्चार्ज यज्ञबहादुर बोगटीले अछामका विभिन्न आयोजना समेटिएको मागपत्र पनि ओलीलाई बुझाए । माथिल्लो कर्णाली आयोजना , बुढीगंगा जलविद्युत आयोजना, बेतन कर्णाली, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, सेती लोकमार्ग, जिल्ला अस्पताललगायतका विभिन्न आयोजना उक्त मागपत्रमा समेटिएका छन् ।
ओलीले शनिबार नै साफेबगरमा कार्यकर्तालाई सम्बोधन गर्दै वैद्यनाथ धाम र बयालपाटा अस्पतालको अवलोकन पनि गरेका थिए ।