बीरगंज,बैशाख २२
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नवनिर्मित प्रहरी चौकी भवन हस्तान्तरण गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रम बीच भवन हस्तान्तरण गरिएको हो ।पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई नवनिर्मित प्रहरी भवन हस्तान्तरण गरेका थिए ।नगरपालिकाको वडा नम्बर ४ स्थित बजार क्षेत्रमा शान्ति सुरक्षा गस्तीका लागि प्रहरी भवन नगरपालिकाले निर्माण गरेको छ । बजार क्षेत्रभन्दा १ किलोमीटर टाढा रहेको इलाका प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा बेलाबखत समस्या हुने गरेको र बजार क्षेत्रमा चोरीका घटना बढेको कारण सो नियन्त्रणका लागि नगरपालिकाले प्रहरी भवन निर्माण गरिएको नगर उप-प्रमुख सल्मा खातुनले बताइन।हस्तान्तरण कार्यक्रममा पोखरिया नगरपालिकाका वडाध्यक्षहरु लक्ष्मण साह कानू, अजय कलवार, बङ्काराउत कुर्मी, रामबाबू चौहानलगायतको सहभागिता थियो ।