वीरगन्ज । प्रो - क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो दिनको खेलमा पर्सा ११ ले वन्डर क्लब नोयडालाई ५ विकेटले पराजित गरेको छ ।
नारायणी रंगशालामा जारी खेलमा नोयडाले दिएको एक सय २ को लक्ष्य पर्सा ११ ले १९.२ बलमा पूरा गरेको हो ।
पर्साका ११ का खेलाडी पवन सरार्फले खेलको अन्तिममा आक्रमक ब्याटिङ गरेपछी पर्सा ११ जित्न सफल भएको हो । पवनले नटआउट १३ बलमा २७ रनको योगदान गरे ।
अर्को खेलाडी हासिम अन्सारी ३९ बलमा २१ रन बनाए भने अनिल साहले २४ बल खेल्दै २१ रन र इमरान शेखले १६ बलमा १४ रन हाने ।
नोयडाका बलर सन्जीव चतुरवेदी चार ओभरमा १७ रन दिदै २ विकेट लिए । हर्सित सेठीले चार ओभरमा २ विकेट लिदै १६ रन दिएका हुन् । यस्तै दिवान्स रावतले तीन ओभरमा १९ रन दिदै एक विकेट पाए ।
यसअघि वन्डर क्लब नोयडाले पर्सा ११ लाई एक सय २ रनको लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको नोयडाले १९.५ ओभरमा अलआउट हुदै एक सय १ रन बनाएको हो । नोयडाका खेलाडी अल्पित गुप्ताले २६ बल खेल्दै १९ रन बनाए ।
अर्को खेलाडी हर्सित सेठीले १२ बलमा १८ रन बनाए । यस्तै तरुण बिष्टले २१ बलमा १५ रनको योगदान गरे ।खेलमा पर्सा ११ का कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले चार ओभरमा १४ रन दिएका हुन् । अर्को बलर सैफुल्लाह अन्सारीले चार ओभरमा २ विकेट लिदै ११ रन दिए । यस्तै पवन सराफले विकेट लिए । उनले तीन ओभरमा २८ रन दिए ।