बीरगंज, बैशाख २३


आज देखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभए सम्मका लागि जारी रहने छ । बाग्लुङ जिल्लाको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजे देखि निषेधाज्ञा सुरु हुनेछ ।सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौर देखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउले सम्म, जिरोकिलो हुँदै बाहुनेपाटी – सिपाघाट मेलम्ची – हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ ।त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । अहिले सम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।