बीरगन्ज, बैशाख २३
बीरगन्ज महानगरपालिकाले शुक्रबाट वडा वडामा स्वाब संकलन गर्ने भएको छ । दोस्रो लहरको कोरोना महामारीको नियन्त्रण तथा रोकथामलाई अझ प्रभावकारी बनाउन समुदाय स्तरमा परीक्षण गर्न लागिएको हो ।महानगर अन्तर्गतको स्वास्थ्य महाशाखाको टोलिले घुम्ती टोलिद्धारा प्रत्येक वडामा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने जनाइएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोनाका लक्षण देखिएकाहरुलाई स्वाब परीक्षण गराउन नगर प्रमुख विजय कुमार सरावगीले आग्रह गरेका छन् ।सामाजिक सञ्जालको फेसबुकको आधिकारीक पेजमा एक पोष्ट लेख्दै नगर प्रमुख सरावगीले निःशुल्क रुपमा हुने स्वाब परीक्षणका लागि स्वाब संकलन गराइ कोभिड १९ को चेन ब्रेक गर्न अनुरोध गरेका हुन् । शुक्रबार बिहान ७ बजेदेखि १० सम्म आदर्शनगरस्थित वारुणयन्त्रको कार्यालयबाट सुरु हुने स्वाब परीक्षण कार्य सुरु हुँदैछ ।नारायणी अस्पतालमा स्वाब संकलनका लागि बिरामीहरुको चाप बढेपछि वडास्तरमा स्वाब संकलन गर्न लागि बीरगन्ज महानगरपालिकाले जनाएको छ ।