वीरगन्ज । चिसो बढ्दै गएपछि पर्साको पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् । मधेसमा केहि दिनयता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएको छ ।
चिसो बढेपछि यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सोमबार देखि आठ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको महानगरको शिक्षा समितिको बैठकले सोमबार देखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुको हकमा भने परिक्षा नियमित राख्न अनुरोध गरिएको राउतले बताए।