बीरगंज,बैशाख २३


कोरोना भाइरसको संक्रमणका कारण ठोरी गाउँपालिका ५ सुवर्णपुर निवासी ५२ बर्षीय एक व्यक्तिको मृत्यु भएको छ । काठमाडौं टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको ठोरी -५ का वडाध्यक्ष राम बहादुर पाख्रीनले जानकारी दिनुभयो। सुवर्णपुर चोकमा होटेल व्यवसाय गरिरहेका उनलाई करीब २ साता अघि रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा कोरोना पुष्टी भएपछि शुक्रराज ट्रपिकलमा उपचाररत रहेकै अवस्थामा उनको आज बिहान निधन भएको वडाध्यक्ष पाख्रीनले बताउनुभयो। वडाध्यक्ष पाख्रीनका अनुसार मृतकको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भैरहेकै समयमा आज अकास्मात निधन भएको हो। गत बैशाख ५ गते उनको स्वाव परीक्षण गरिएको र ६ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। कोरोना संक्रमणका कारण मृत्यु हुने उनी ठोरीको पहिलो व्यक्ति भएको ठोरी गापा स्वास्थ्य संयोजक रमेश राज थिङ्ले जानकारी दिनुभयो।यसैबीच ठोरीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। बुधबार गरिएको एन्टिजेन परीक्षणमा ठोरी ४ का ६४ ,४० र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुस्टी भएको गापा स्वास्थ्य संयोजक थिङ्ले बताउनुभयो। संक्रमित मध्ये ६४ वर्षका पुरुषको श्वासप्रश्वासमा समस्या भएकाले बीरगंज स्थित नारायणी अस्पतालमा पठाइएको र अन्य संक्रमितलाई होम आईसोलेसनमा राखिएको गापाले जनाएको छ।