वीरगन्ज । भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन भएको खुशीयालीमा पर्साको पोखरीया नगरपालिकामा पनि साेमबार रथ यात्रा निकालिएको हो । यसकासाथै नगरबासीलेपनि स्वस्फूर्त रुपमा घरघरमा दीप प्रज्वलन गरी दीपावली पनि मनाएका छन् ।
पोखरीया नगरपालिका वडा नं ९ बैरिया बिर्ताको सहयोग एवं जय माँ सरस्वती झंकार नाच मण्डलीले भगवान राम सीता लगायतको अभिनय गरी रथ यात्रा निकालेको हो ।
पोखरीयाको बैरिया बिरताबाट निकालिएको रथ यात्रा पोखरीया बजार , शिव बर्वा , चौकिया बैरिया लगायतको गाउँमा परिक्रमा गराइ फेरि बैरिया गाउँमा ल्याई पूजा अर्चना गरिएको थियो ।
यसका साथ साथै पर्सा जिल्लाको प्रत्येक पालिकामा कशल यात्रा निकाली घरघरमा दीप प्रज्वलन गरी दीपावली मनाइएको छ । साथै वीरगन्ज महानगरपालिकामा साेमबार बेलुकी सवा लाख दीयाे बालेर दीपाेत्सव गरिएको छ ।
वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्राङ्गणमा विश्व हिन्दु परिषदकाे आयाेजनामा १ लाख २५ हजार दीयाे बालेर भव्य दीपाेत्सव मनाइएको हाे।दीपाेत्सवकाे समुद्घाटन संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए।
दिउँसाे हिन्दु परिषदकाे आयाेजनामा भगवान् श्रीराम कथा वर्णनसहितकाे भव्य झाँकीपनि निकालिएको थियाे।गीतामन्दिर नजिकबाट सात वटा ट्रकमा भगवान् श्रीरामकाे जन्मदेखी वनबासबाट अयाेध्या फिर्तीसम्मकाे कथा वर्णन गरिएको झाँकी राखेर नगर परिक्रमा गराइएकाे थियाे ।