वीरगञ्ज । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा जारी नेशनल ईन्फोटेक (एनआई) क्रिकेट कपको उपाधिका लागि नेशनल ईन्फोटेक र ग्लोबल बिजनेस कलेज भिड्ने भएका छन् ।
बिहिवार सम्पन्न सेमीफाइनल खेलमा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) लाई २८ रनले पराजित गर्दै ग्लोबलले उपाधिका लागि एनआईसँगको भिडन्त पक्का गरेको हो । टस जितेर पहिला ब्याटिङ् गरेको ग्लोबल कलेजले निर्धारित १० ओभरमा सबै विकेट गुमाएर ११६ रन जोडेको थियो ।
ग्लोबलका रितिक पटेलले ३५ बलमा २६ रन जोडे । सिकन्द्र कुमार साहले २१ बलमा २२ रन जोड्दा साहिल सर्राफले १६ बलमा १७ रन बनाए । बिपिसीका जडुबन्शी बैठाले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए । सन्दिप सिंहले ४ ओभरमै २२ रन दिएर २ विकेट लिए ।
११७ रनको लक्ष्य पछ्याएको बिपिसी १८ ओभरमै सबै विकेट गुमाएर ८८ रनमै समेटियो । बिपिसीका लागि असरफ हुसैनले २१ बलमा २ छक्का प्रहार गर्दै २१ रन बनाए । जडुबन्शी बैठाले १८ बलमा १४ रन जोडे भने अरसाद हुसैनले ११ रन जोडे ।
ग्लोबलका विवेक यादवले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सुजल सर्राफले ४ ओभरमा १३ रन खर्चिदै ३ विकेट लिँदा अनुज पटेलले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए ।
प्रतियोगीतामा ग्लोबलका विवेक यादव प्लेयर अफ दी म्याच घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । उनलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्ले पुरस्कार प्रदान गरेका थिए ।
यसअघि बुधवार नै एनआई कलेज हेटौडालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । अब यही शनिवार बिहान ११ बजे उपाधिका लागि ग्लोबल र एनआईबीच प्रतिस्पर्धा हुनेछ ।