काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सहित यस अघिको मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुलाई हटाउनुभएको छ । नयाँ गठवन्धनबाट तीनजना मन्त्री नियुक्त गर्ने क्रममा प्रचण्डले पूराना सबै मन्त्रीहरुलाई हटाउनुभएको थियो ।
नेपाली कांग्रेसले मन्त्रिमण्डलबाट आफैं नहट्ने, प्रचण्डले हटाए मात्र हट्ने भनेको थियो । सोमबार दिनभरी प्रधानमन्त्री प्रचण्डले कांग्रेसका मन्त्रीहरुको राजीनामा पर्खनुभएको थियो ।
प्रधानमन्त्रीले पुर्नगठन गरेर सबै मन्त्री हटाउनुको संवैधानिक अर्थ रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार मन्त्री तथा सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुले सरकार त्यागेका भए प्रधानमन्त्रीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर, प्रधानमन्त्रीले नै हटाएपछि सरकारमा सहभागी दलहरुले सरकार त्याग गर्नै परेन । त्यसकारण विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता प्रधानमन्त्री प्रचण्डलाई परेन ।
संवैधानिक रुपमा विश्वासको मत लिनुपर्ने अवस्था नभए पनि राजनीतिक रुपमा भने विश्वासको मत लिनुपर्ने अवस्था छ । सत्ता साझेदार एउटा दलले छाडेको र नयाँ दल सामेल भएपछि विश्वासको मत स्वत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रधानमन्त्री प्रचण्ड निकट एक नेताका अनुसार यही साताभित्र प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने भएको छ ।