पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ४ को मधवल टोलमामा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट हिजो सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएको छ ।
जन्तीमा आएका बेहुला पक्षधरहरुले खाना माछा नपाएको भन्दै भनाभन गरेपछि कुटाकुटमा भएको थियो । कुटाकुटमा परी बेहुलाका बुबा घाइते हुनु भएको छ ।
कुटाकुट पछि जन्ती आएकाहरु सबै जना भागेका थिए तर बेहुली पक्षकाहरुले बेहुलालाई घेरी राखेका थिए । बेहुलालाई घेरी राखेको खण्डमा प्रहरीलाई जानकारीहुँदा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा गएको प्रहरी टोलीले बेहुलालाई उद्दार गरी इप्रकामा ल्याएका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा मंगलबार छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि बेहुला आफ्नो घर फर्किसकेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए ।
स्रोतका अनुसार एक जना जनप्रतिनिधिले घटना मिलाई बिहे गराइदिने तरखरमा दिनभरि प्रयास गरेपनि प्रयास असफल रहेको छ । बिहे नगर्ने अडानमा रहेका केटी पक्षधरले आफ्नो दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् । तर केटाको पक्षले बिहेमा खर्च भएको भन्दै एक रुपैयाँ पनि नदिने अडान राखेको श्रोतको भनाइ छ ।