वीरगञ्ज । दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती विवाहको मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै समयमा सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द भएको घोषणा गर्ने बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका बेहुला उमेश साह , बेहुलाका बुवा बच्चालाल साह , दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बस्ने रामएकबाल साह सहित ५ जना रहेको प्रहरीले जनाएको छ ।
दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे नै भाँडिएको छ । विहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय राखी जिल्ला अदालत पर्साबाट विवाह सम्बन्धी कसुरमा २ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताउनु भयो ।
उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् । भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।