वीरगञ्ज । अधिकृत हेमन्तप्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार डिभिजन वन कार्यालय पर्साका प्रमुख वन साह सहित २४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
जलेश्वर महोत्तरीमा कार्यरत रहेका बेला तत्कालीन वन अधिकृत साहले रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रूखमा छापा, टाँचा गराई, कटान गर्न इजाजत दिई, वन क्षेत्रको रूख व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रूख कटान गरी भ्रष्टाचार गरेको पुष्टि भएकाले साहविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सोही विषयमा अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर सब–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।