बीरगंज,बैशाख २८
महोत्तरीमा एक प्रहरी जवानले पासो लगाई आत्महत्या गरेका छन् । सोमबार मध्यरातमा आँपको रूखमा पासो लगाई उनले आत्महत्या गरेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँपको बोटमा पासो लागेको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो ।ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले आत्महत्या गरे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा १ घर भई ढल्केबर स्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।मृतक प्रहरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।