वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साको एक महिना अगाडि कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले कसैसंग पूर्वाग्रह नराखि नेपाल प्रहरी ऐन बमोजिम काम गर्ने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी ढुंगेलले पर्सामा आएको एक महिनाको अवधिमा यहां हुने अवैध कारोबार र क्राइमको सम्बन्धमा आफूले अध्ययन गरेको जनाएका छन् ।
’शान्ति सुरक्षा , अपराध अनुसन्धान र राजस्व चुहावट नियन्त्रण नै मूल काम हो,’ एसपी ढुंगेलले भने, ‘कुनै पूर्वाग्रह नराखि काम गर्छौ । देखिएको कमि कमजोरी सुधार गर्छौ ।’ उनका अनुसार पर्सामा मुद्दा दर्ता गरियो भने धेरै कुरा गरियो भन्ने सोचाई रहेको छ । कसले मुद्दा दर्ता गराउन सक्छ भनेर एउटै मुद्दा पनि ३ जनासम्मले लिएर आएको उनले खुलाए ।
‘मुद्दा दर्ता गर्नु मात्र ठूलो कुरा हैन्,’ उनले भने, ‘त्यसलाई फर्छयोट पनि त गर्नसक्नुर्यो ।’ आफू आएदेखि मुद्दा ‘स्क्रीनिङ’ गरेर मात्र दर्ता गर्न थालिएको उनले जनाए । कतिपय सन्दर्भमा प्रहरी आफूमा पनि सुध्रिन आवश्यक रहेको उनले सुनाए ।
जिल्ला प्रहरी कार्यालय पर्सामा एउटै कामको लागि सधैं आउनु नपर्ने गरी काम हुने उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्साले गरेको प्रत्यके कार्यको सजिलै सूचना उपलब्ध गराउनको लागि प्रतिबद्ध रहेको एसपी ढुंगेलले बताए ।
पर्साको अन्य कार्यालयमा जाँदा मानिसहरूले एक्लै जाने र आफ्नो कार्य गराउने तर जिल्ला प्रहरी कार्यालय पर्सामा आउँदा तीन चार जनालाई लिएर आउने कार्यलाई अन्त्य गरी आफ्नो कार्यको लागि एक्लै आए कार्य हुने गरी वातावरण बनाउने एसपी ढुंगेलले बताए ।