वीरगञ्ज, बैशाख २९
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले अँझै एक हप्तासम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सिफारिस गरेको छ ।
निर्णय नं १:-DCCMC को पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।
निर्णय नं २:-मिति २०७८ साल वैशाख २६ गते आईतबारका दिन प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यूको अध्यक्षतामा बसेको कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धी समन्वयात्मक बैठकको निर्णय नं २ अनुसार नारायणी अस्पतालमा कोभिड-१९ को RT-PCR परीक्षणको कार्य ३ सिफ्टमा २४ सैं घण्टा सञ्चालन गर्ने । यसको लागि मेडिकल, माईक्रोबायोलोजिष्ट (MSC/MD) र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पुर्याई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने ब्यवस्था मिलाउने र निजहरुको पारिश्रमिक DCCMC मार्फत उपलब्ध गराउने निर्णय गरियो ।
निर्णय नं ३:-नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०१-१३ गतेको निर्णयको बुदाँ नं ८ मा उल्लेख भए अनुसार बीरगंज स्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्यको लागि करिब १(एक) हजार क्षमताको होलडिङ्ग सेन्टर बनाउने प्रयोजनको लागि सीमा नाका नजिकै बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब २.५ (अढाई) बिगहा सरकारी जग्गा उपयुक्त देखिएकोले होल्डिङ्ग सेन्टर निर्माणार्थ सोही जग्गालाई गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।
निर्णय नं ४:-कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी मुस्लीम धर्मावलम्बीहरुको महान चाड ईदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आ-आफ्नो घरमा चाँडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गर्ने ।
निर्णय नं ५:-यस जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड-१९ को संक्रमणको श्रृङ्खला तोड्न (Chain Break गर्न) उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई यही मिति २०७८-०२-६ गते राती १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।