जनकपुरधाम – सिरहामा एसईई अन्तर्गत गणित विषयको प्रश्नपत्रको उत्तरको फोटोकपी गराइरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका १३ बस्ने पप्पु कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आइतबार सुखिपुर नगरपालिका– ७ स्थित रजै मावि बलही परीक्षा केन्द्रमा अनिवार्य गणित विषयको परीक्षा सञ्चालन भईरहेको अवस्थामा सिंहले परीक्षा केन्द्र बाहिर कविता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रति फोटोकपीसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएको टोलीले जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट मोवाईल १३१ थान र स्मार्ट वाच १८ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।