बीरगंज,बैशाख २९


जिल्ला प्रहरी कार्यालय पर्साले ८२ लाख ५० हजार अवैध रकम सहित ४ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा अवैध हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधवार दिउँसो १ बजे ४ जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । आदर्शनगर पुरानो बसर्पामा हिँड्दै गरेका बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय कलामुद्दिन अन्सारीले बोकेका झोलाबाट २५ लाख रकम प्रहरीले बरामद गरेको हो ।त्यस्तै भारतको बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर १८ स्थाई घर भई बीरगंज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानीट्यांकीमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमारको कोठा खानतलासी गर्दा २ वटा कालो झोला र २ वटा हेल्मेटभित्र लुकाई राखिएको ५७ लाख ५० हजार रुपैँया फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।हुण्डी कारोवारमा संलग्न रहेका विकास कुमार, अन्सारीसहित रक्सौल वडा नम्बर ९ का २२ वषीय गुड्डु कुमार र भारत बिहार मोतिहारी १५ बस्ने १८ वर्षीय साहिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ना.८प. ४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिइएक चारैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।