बीरगन्ज । वर्षौदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोश्रो ठूलो बीरगन्जको नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि बीरगन्जबासीले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई गुहारेका छन् ।
आइतबार बिहान नारायणी रंगशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रंगशालामै भेटेर बीरगन्जका खेलप्रेमी र अगुवाहरुले ज्ञापनपत्र बुझाँउदै नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि आग्रह गरेका हुन् ।बीरगन्ज महानगरपालिकाका मेयर राजेशमानसिंहको उपस्थितीमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह लगायतले बीरगन्जबासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रपनि बुझााए ।
विक्रम संवत २०४२ सालमा बीरगन्जबासीकै अग्रसरतामा १८ बिग क्षेत्रफलमा निर्माण गरिएको नारायणी रंगशाला मर्मत सम्भारको अभावमा बर्षौदेखि जीर्ण बन्दै गइरहेको छ ।झण्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रंगशालाका प्याराफिटहरु ठाँउ ठाँउमा भत्एिका छन् भने पर्खालहरुपनि जीर्ण अवस्थामा छन् ।
चार बर्षपहिले राष्ट्रिय खेलकुद परिषदले रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रंगशालाको पुर्ननिर्माणका लागि ७ करोड रुपैयाँमात्र विनियोजन गरेको थियो ।उक्त रकमबाट पुर्ननिर्माणको काम सुरु गरिएपनि रकम अभावले दुई बर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।
आइतबार बीरगन्जबासीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा अलपत्र रहेको रंगशाला पुर्ननिर्माणको काम पुन सुरु गर्नका लागि आवश्यक रकम सरकारको आगामी आर्थिक बर्षको बजेटमा विनियोजन गरिदिन आग्रह गरिएको छ ।