

पर्सा । समग्र देशको २४ प्रतिशत भूमि कृषियोग्य छ । मधेस त्यस्तो प्रदेश हो, जहाँको करिब ६९ प्रतिशत भूमि कृषियोग्य छ । सिंगो देशलाई हेर्दा ६३ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । यहाँ पनि मधेस निकै अगाडि छ । मधेस प्रदेशमा ९४ प्रतिशत कृषि भूमिमा चिस्यान वा ओसिलोपन छ । यी तथ्यांक नै मधेस प्रदेशले कृषिबाटै विकासमा फड्को मार्न सक्छ भन्ने बलिया आधार हुन् ।
त्यसो, त मधेस सरकारले पनि कृषिलाई प्रदेश समृद्धिको पहिलो आधार मानेको छ र त्यसअनुसारका योजना कार्यान्वयन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले मधेश प्रदेशको कृषि क्षेत्र उच्च प्राथमिकतामा रहेको समेत बताउँदै आउनुभएको छ । समग्र मधेशको विकासको उद्देश्य राखी कृषि काम गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ काम अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।
मधेश कृषि क्षेत्रमा प्रचुर सम्भावना भएपनि कृषि क्षेत्रलाई दिगो, सम्मानित, नाफामूलक, प्रतिस्पर्धी, व्यावसायिक बनाउने चुनौति रहेको मन्त्रालयको भनाइ छ । कृषि क्षेत्र मर्यादित एवम् सम्मानित कृषि उद्यमशीलताको प्रत्याभूति गर्न मन्त्रालय निरन्तर लागिरहने जनाएको छ ।
“हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत् कृषि उपकरण उपलब्धताको सुनिश्चितता मधेश प्रदेशका सवै जिल्लाहरुमा पर्सा जिल्लालाई माछा जोन, बारामा केरा तथा तरकारी जोन, रौतहटमा माछा जोन, सर्लाहीमा तरकारी, मकै तथा सुपरजोन, सिराहमा पशुचौपाया जोन, धनुषामा तरकारी जोन र महोत्तरी धान जोनको रुपमा अघि बढाउने समेत कृषि मन्त्री ज्वाला साहले बताउँदै आउनुभएको छ । उहाँले किसानलाई ५० प्रतिशत अनुदान दिएर कृषि क्षेत्रमा उत्साहित गर्ने योजना रहेको समेत बताउँदै आउनुभएको छ ।