वीरगन्ज २ जेठ : प्रदेश २ सभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलव २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य डा. यादवले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै चार महिनाको तलब बराबर रकमबाट सेमी भेन्टीलेटर लगायत स्वास्थ्य सामग्री खरिद गरेर नारायणी अस्पताललाई दिने घोषणा गरेकी हुन् ।
डा. यादवले नारायणी अस्पताललाई एकथान सीप्याप मेसिनी (सेमी भेन्टीलेटर), अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र गर्भवती महिलाका लागि फेटल ड्रपलर अस्पताललाई एक हप्ता भित्रमा आफ्नो ४ महिनाको तलवको रकमबाट उपलब्ध गराउने घोषणा गरेकी छन् । बढ्दो कोरोनाभाइरस महामारीको समयमा सङ्क्रमितहरुको उपचारमा अति उपयोगी मानिने सेमी भेन्टीलेटर मेसिन आफ्नो ४ महिनाको तलब र सुविधा बराबरको रकमबाट खरिद गरेर दिने घोषणा गरेको कार्यलाई धेरैले सराहना गरेका छन् ।
कोभिडले पर्सा जिल्लाको अवस्था आक्रान्त भएको बेला आफ्नो सेवा सुविधाबाट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्ने उनी पहिलो प्रदेशसभा सदस्य बनेकी छन् । गत बर्ष कोरोका महामारीको बेला प्रदेशसभा सदस्य डा. यादवले तलब र निजिबाट स्वास्थ्य सामगी तथा राहतसमेत वितरण गरेकी थिन् ।
जसपाको प्रभावकारी नेतृ समेत रहेकी डा. यादवले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह पनि गरेकी छन् ।