जनकपुरधाम- धनुषा प्रहरीले हत्या आरोपमा फरार रहेका एकजनालाई घटनाको दुई वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २२ वर्षीय पंकज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
मण्डललाई विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले मुखियापट्टी मुसहर्निया गाउँपालिका ३ स्थितबाट पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
२०७८ साल चैत २२ गते मुखियापट्टी मुसहरनिया ३ स्थित सडकखण्डबाट हंसपुर ७ नौवाखोर बस्ने १९ वर्षीय विजय राम हराएकोमा २३ गते बिहानको समयमा स्थानीय राजकिशोर मण्डलको गहुँखेतमा शव फेला परेको थियो।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा घटनाको करिव २ महिना पहिला हंसपुर ७ स्थित रोजुवा भन्ने रोजाई नदाफको घरमा चोरी भएको घटनामा मृतक विजय रामलाई शंका गरी स्थानीय व्यक्तिहरूले सोधपुछ गर्दा रामले चोरीको घटना स्वीकार गरेका थिए भने चोरीमा संलग्न अन्य व्यक्ति मनोज महरा, जितु मण्डल र पंकज मण्डलसमेत ४ जनाको संलग्नता छ भनी बताएका थिए।
सोही कुराको रिसइबी राखी मनोज महरा, जितु मण्डल र पंकज मण्डलले योजना बनाई रामलाई घुम्न जाँउ भनी लगि गाउँकै राजकिशोर मण्डलको गहुँ खेतमा लगि साथमा राखेको पेस्तोल र चक्कु प्रहार गरी रामको हत्या गरेका थिए।
यस हत्यापछि प्रहरीले आरोपितहरुमध्ये २० वर्षीय मनोज महरालाई नियन्त्रणमा लिएका थिए। उनलाई धनुषा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षको लागि सुनसरीको झुम्का कारागार चलान गरिएको छ भने फरार रहेका दुईजनामध्ये एकजनालाई अहिले आएर पक्राउ गरिएको हो।