पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं १ टिन्डोबिया बस्ने बृजेश प्रसाद कुर्मीको घरमा लागूऔंषध चरेश लुकाइ छिपाई राखेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको प्रहरी टोलीले छापामारी गरी ठूलो मात्रामा लागूऔंषध चरेस सहित कुर्मिलाई नियन्त्रणमा लिएको हो ।
बिहान २:३० बजेको समयमा कुर्मी कै रोहबरमा निजकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा १७ किलोग्राम लागू औंषध चरेश फेला पारी उक्त लागू औंषध सहित निज कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए ।
लागू औषध चरेशसहित नियन्त्रणमा लिएका कुर्मीलाई इप्रका पोखरियामा राखी लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।