काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ९ विकेट ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। गुजरातले दिएको २ सय १ रनको उच्च लक्ष्य बैंगलोरले २४ बल (१६ ओभरमै) बाँकी हुँदै १ विकेट गुमाएर पूरा गर्याे।
बैंगलोरको जितमा विल ज्याक्सले विष्फोटक शतकीय इनिङ खेले। उनले ४१ बलमा ५ चौका र १० छक्काको सहयोगमा अविजित १०० रनको सानदार शतकीय इनिङ खेले।
त्यस्तै विराट कोहली ४४ बलमा ७० रनमा अविजित रहे। उनले आफ्नो इनिङमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान फाफ डुप्लेसिसले १२ बलमा २४ रन बनाएका थिए। गुजरातका लागि साइ किशोरले १ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो। उसका लागि साइ सुदर्शनले ८४ रनको अविजित इनिङ खेले। त्यस्तै शाहरुख खानले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा डेभिड मिलरले २६ रनको नटआउट इनिङ खेलेका थिए।
फराकिलो जितपछि पनि बैंगलोर अङ्क तालिकाको पुछारमा रहेको छ। प्लेअफको झिनो सम्भावनाबिच पछिल्ला दुई खेलको जितले बैंगलोरलाई केहि राहत महसुस भएको छ।