बीरगंज,जेठ ३
काेभिड एकस्न टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालमा पनि स्थलगत निरिक्षण गरेको छ । निरिक्षणको क्रममा क्याटले अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुको स्वास्थ्य अवस्था र अस्पताल प्रशासनको व्यवस्थापन लगायतको बारेमा जानकारी लिएको अहमदले बताए । अनुगमनको क्रममा अक्सिजनको अभाव फेला परेको नेपाली काङ्ग्रेस पर्साका सचिब एवम् क्याटका सदस्य श्याम पटेलले बताए । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएको डा. ओमप्रकाशकाअनुसार आवश्यक्ता तथा मागबमोजिमको अक्सिजन आपुर्ति हुन सकिरहेको छैन । हरेक दिन १२ घण्टामा लगभग २ सय भन्दा धेरै अक्सिजनको माग भएपनि आपुर्ति भने जम्मा ३० वटा मात्रै हुने गरेको उनले बताए । फलस्वरुप अक्सिजत अभावलाई परिपुर्ति गर्ने अभिप्रायले पर्सा जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधिहरुसहित सरोकारवालाहरुको ध्यानाकर्षण गराइने क्याटले जनाएको छ । अनुगमन टोलीमा नेकपा एमालेबाट सञ्जिव मिश्रा, नेकपा माओवादी केन्द्रका बाबुराम कौशिक लगायतको सहभागिता रहेको थियो ।