वीरगंज,जेठ ५ ।


बीरगंज महानगरपालिकामा रहेको प्रभु अस्पतालको बिल देखेपछि निको भएको बिरामी मर्ने अवस्था वीरगञ्ज जस्तो ठाउँमा अक्सिजनका लागि अस्पतालमा ८ दिनमा मात्रै १ लाख १ हजार रुपैयाँ तिर्नुपरेको सुन्दा जो कोहीलाई पनि झोक चल्न सक्छ । तर यहाँ प्रभुको लिला अपरम्पार छ ।सनातनीहरुले पुजा गर्ने प्रभु नभई वीरगञ्ज स्थित चरम विवादित निजी अस्पताल प्रभुको घटना हो यो । विवादित चिकित्सक दम्पती मनोज कुमार गुप्ता र लक्ष्मी थापा गुप्ताले सञ्चालनमा ल्याएको वीरगञ्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरले विरामीसँग मनपरी शुल्क लिएको पोल खुलेको छ । अस्पतालले विरामीसँग अक्सिजन वापत ८ गुणा बढीसम्म रकम असुल गरेको खुलेको प्रमाण भेटेको छ ।अस्पतालमा भर्ना भएकी एकजना विरामीको परिवारसँग अस्पतालले ८ दिनमा अक्सिजनका लागि मात्र १ लाख १ हजार रुपैयाँ असुल गरेको छ । उक्त रकम सामान्यको तुलनामा ८ गुणाभन्दा पनि बढी हो । चिकित्सकका अनुसार विरामीको उपचारका लागि एकदिनमा अधिकतम ५ वटासम्म ठूलो अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । एउटा अक्सिजनको ठूलो सिलिण्डर भराउन बढीमा ५ सय ३० रुपैयाँसम्म लाग्छ । अस्पतालको ढुवानीलगायत खर्चहरु जोड्दा पनि अक्सिजन वापत लिएको रकम जायज नभएको जानकारहरुले बताउँछन् । ‘हाईफ्लो अक्सिजनमा विरामीलाई राख्दा बढीमा ४ वटासम्म ठूलो सिलिण्डर खपत हुने गरेको छ । तर त्यो हिसाबले जोड्दा पनि ८ दिनको ४० हजार रुपैया“ भन्दाबढी शुल्कलाई स्वभाविक भन्न सकिंदैन ।’ एक चिकित्सकले बताए ।बैशाख २७ गते कोरोनासंग मिल्दोजुल्दो लक्षणसहित अस्पताल भर्ना भएकी सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ९ की ६५ वर्षीय उर्मिला देवीको परिवारसँग वीरगञ्जको आर्मी व्यारेक पछाडि रहेको प्रभु अस्पतालले ८ दिनको २ लाख १ हजार ४ सय ५० रुपैयाँको बीलमा ४ हजार ७ सय ५० छुट गरेर १ लाख ९६ हजार ७ सय असुलेको पाइएको छ । जसमध्ये अक्सिजनका लागि मात्र अस्पतालले १ लाख १ हजार रुपैया“ लिएको बिलमा उल्लेख गरिएको छ । अर्को शब्दमा यसलाई “लुट” भन्दा अन्यथा नहोला ।जेठ ४ गते उर्मिला देवी डिस्चार्ज हुँदा अस्पतालले अक्सिजनका लागि १ लाख १ हजार, नर्सिङ्ग केयरका लागि ९ हजार, नेबूलाईजेसनका लागि ५ हजार २ सय, डाक्टर भिजिटका लागि १८ हजार ५ सय, कोभिड किटका लागि १३ हजार ५ सय, बेड चार्जका लागि ५४ हजार र अन्य शुल्क २ सय ५० रुपैयाँगरी २ लाख १ हजार ४ सय ५० रुपैयाँ मध्ये छुट सहित सो रकम असुल गरेको पाइएको छ । यस बाहेक अस्पतालले औषधी र अन्य जाँचका लागि थप ५० हजार रुपैयाँ लिएको पीडितले बताए ।अर्कोतर्फ, अस्पतालले बिलमा सेवा वा सामानको नाम बाहेक संख्याको विवरण पनि खुलाइएको छैन । अस्पतालसँग के सामग्री कती लागेको भनेर प्रश्न गर्दा त्यसको विवरण खुलाउन नमिल्ने भन्ने जवाफ आएको पीडितले आरोप लगाएका छन् । पीडितका अनुसार अस्पतालले आफूहरुसँग अक्सिजन वापत प्रतिघण्टा ५ सय रुपैयाँको दरले पैसा लिएको छ ।आमालाई भर्ना गर्ने समयमा अस्पतालले सेवाहरुको शुल्क दर अर्कै बताएर डिस्चार्ज गर्ने दिन त्योभन्दा बढी रकम लिएको उर्मीलाका छोराको आरोप छ । आमालाई सन्चो नै नभई अस्पतालले डिस्चार्ज गरेको उनले बताए । ‘सुरुमा भर्ना गर्न त गर्यो तर पछि कोरोना जस्तो लक्षण देखिएपछि यहाँ उपचार गर्न मिल्दैन, अन्तै लानुहोस् भनेर आमालाई सन्चै नभइ अस्पतालले डिस्चार्ज गर्यो ’ उनले भने ।यता अस्पतालले कोरोना महामारीको समयमा समेत उपचार गराउन भर्ना भएका सङ्क्रमितका परिवारसँग यसरी चर्को शुल्क असुल गरेको बिल सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालको आलोचना सुरु भएको छ ।सामाजिक सञ्जालमा गएरातिदेखिनै विलको तस्विर राखेर स्थानीयले कोरोना सङ्क्रमितको उपचारको नाममा अस्पतालले ब्रहमलुट मच्चाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा अस्पताललाई कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले अस्पताललाई कारवाही गरिने बताए । यस विषयमा बुझेर अस्पतालमा अनुगमन गर्ने पौडेलको भनाई छ । ‘अक्सिजनको नाममा अस्पतालले त्यत्रो रकम असुल गर्न मिल्दैन । हामीलाई जानकारी आएको छ, अनुगमन गरेर आवश्यक कारवाही गर्छौ“,’ पौडेलले भने ।प्रभु अस्पतालका सञ्चालक वरिष्ठ सर्जन डा. मनोज गुप्ता र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता दम्पती हुन् । डा. गुप्ताले बिलमा त्रुटी भएको कारण भ्रम सृजना भएको बताए । विरामीलाई सीप्याप र भेन्टीलेटरमा राखीएपनि बिलमा त्रुटीबस अक्सिजन मात्र लेखिंदा भ्रम सृजना भएको डा. गुप्ताको कथन छ । उनले अस्पतालले विरामीसँग कुनै अनावश्यक शुल्क नलिएको दावी गरे ।अहिले विवादको घेरामा देखिएको प्रभु अस्पतालको यो घट्ना कुनै नयाँ अथवा नौलो होइन । चिकित्सक दम्पतीको लापारवाहीका कारण यसअघि पनि अस्पताल विभिन्न कारणहरुले विवादमा तानिदै आएको यस अस्पतालमा पहिला पनि एक महिलाको मृत्यु भएको थियो ।केही दिन अगाडी मात्रै नारायणी अस्पतालबाट कोरोना चेक गराउन आएका एक सामान्य परिवारका सामान्य विरामीलाई कोरोनाको पोजेटिभ रिपोर्टका बावजुद अस्पतालमा भर्ना गर्न नमिल्ने र भर्ना गरे भेन्टिलेटरमै राखेर उपचार गराउनु पर्ने भन्दै ठग्न खोजेको थियो । बिरामीलाई सामान्य अक्सिजनको आवश्यकता रहेको तथा पैसा असुल्नका लागि मात्रै भेन्टिलेटरको बहाना बनाएको देखेर परिवारले विरामीको नारायणी अस्पतालमा सामान्य उपचार पश्चात निको भएको जनाउँदै यसप्रकारको लुटेरा अस्पतालसँग जोगिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।