बिरगंज, जेठ १०


यतिखेर मानव सभ्यतालाई नै विनाश गर्ने गरी फैलिएको कोरोना भाईरस संक्रमणले नेपाल पनि अछुतो नरहेको सर्वविदित नै छ । सन २०१९ को अन्तिममा चीनको वुहानबाट देखा परेको यो महाव्याधी भाईरस संक्रमणको प्रथम र दोश्रो लहरले नेपालमा पनि ठूलो मानवीय क्षति पुयाएको छ । दोश्रो लहरको संक्रमण नियन्त्रणमा ल्याउन निकै चुनौती रहेको अवस्थामा फेरी तेश्रो लहर पनि देखा परिसकेको पुष्टि भएको छ । तेश्रो लहरको कोरोना संक्रमण अझ खतरनाक रहेको विज्ञहरुको भनाईले थप चिन्ता र त्रास बढाएको छ । अर्कोतर्फ संक्रमितहरुलाई ब्ल्याक फंगल्स जस्ता नयाँ नौला रोगपनि देखा पर्न थालेकाले आम जनतामा झनै सन्त्रास थपिएको छ ।तात्कालिन नियन्त्रणको लागि नेपालमा लागु गरिएको निषेधाज्ञाने अल्पकालिन रुपमा संक्रमणको बढ्दो श्रृङ्खलामा रोक लगाए पनि लामो समयसम्म यस्तो उपायलाई निरन्तरता दिन सकिदैन । अहिले नै आपूर्ति श्रृंखला बाधित भएर बजारमा एकाएक मालसमानको हाहाकार र कालोबजारी बढ्दै गएको प्रष्ट देखिन थालेको छ । अर्कोतिर कच्चा माल तथा मानवीय जनशक्तिको अभावका कारण उत्पादनहरु ठप्प हुँदै गएका छन् । मनोरन्जन, पर्यटन तथा यातायात व्यवशाय तथा पूर्ण रुपले तहसतहस नै भएका छन् । यस्तो विषमपुर्ण स्थितिबाट निकास पाउन राज्यले दिर्घकालिन उपाय खोज्नु पर्ने अति आवश्यक देखिन्छ ।कोरोना भाईरस विरुद्धको लडाईमा विभिन्न विकसित राष्ट्रहरुले विकास गरेको खोप नै हाम्रो मुलुकको निमित्त समेत उत्तम एवं निर्णायक अस्त्र रहेको हामी निजी क्षेत्रको बुझाईरहेको छ । तथापि नेपालमा कोरोना भाईरस विरुद्धको खोप अझै पर्याप्त उपलब्ध हुन सकेको छैन । नेपालले कोरोना विरुद्धको खोप आपूर्ति गरेर लगाउन शुरु गरिएपनि अहिले परिभाषित वर्ग र समूहलाई समेत दोश्रो डोजको खोप पूरा गर्न सकेको छैन । यसको सहज पहुँच र सुविधा पाउनुपर्ने नागरिकको स्वास्थ्य सम्बन्धी हक नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ स्वास्थ्य सम्बन्धी हकको दफा (१) र (२) (३) मा स्पष्ट व्यावस्था भए अनुसार सबै नागरिकले सहज रुपमा खोप लाउन पाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।कोरोना विरुद्धको खोप सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउनका लागि निजीक्षेत्रलाई खोपको आपूर्तिमा समेत सहभागिता गराउन सके हरेक नेपालीले सहज खोप पाउन सक्छ भन्ने हाम्रो बुझाई छ । प्रत्येक नागरिकलाई खोप अभियान अन्तर्गत राज्यले यथा सम्भव शीघ्र गरिब विपन्न नागरिकहरुका लागि निःशुल्क व्यवस्था गरिदिने र अन्यलाई सहुलियत दरमा उपलब्ध गराउने नीति कार्यन्वयनमा ल्याउनु पर्ने देखिन्छ । यस सम्बन्धमा राज्यले आफ्नो कुटनैतिक माध्यमबाट सरोकारवाला मित्र राष्ट्रहरुका साथ गम्भीर संवाद गर्नुपर्ने देखिन्छ ।यस सम्बन्धमा सरोकारवाला वैदेशिक उत्पादक कम्पनीहरुबाट खोप किनेर लगाउन इच्छुक व्यवसायिक प्रतिष्ठानहरुको निमित्त आयातको बाटो सहज बनाइदिन राज्यको ध्यानाकर्षण गराउन चाहन्छौ । खोप आयात तथा वितरणको क्रममा सम्भावित भ्रष्टाचार, अनियमितता र कालाबजारलाई ध्यानमा राख्दै राज्यले एउटा प्रभावकारी अनुगमन संयन्त्र निर्माण गर्ने व्यावस्था गरोस् भनेर समेत हाम्रो सुझाव रहेको छ । अतः राज्यले कोराना खोप जस्तो अति संवेदनशील अभियानलाई आफ्नो प्रथम वरियताक्रममा राख्दै आफ्नो प्रभावकारी भूमिका निर्वाह गरोस् भनेर हामी निजी क्षेत्र मांग गर्दछौ।
