वीरगञ्ज, जेठ ११
हालैमात्र वीरगञ्जस्थित बाइपास रोडको बहुअरी १४ मा खुलेको स्पर्श मल्टि स्पेशलिटी हस्पिटलले गरिब र निर्धा रोगीहरुको बिल्लीबाँठ गरेको तथ्य फेला परेको छ । उक्त हस्पिटलमा चन्द्रनिगाहपुरकी ६५ वर्षीय लालमोहनी देवि २ दिन भर्ना भएपनि सो हस्पिटलले एक दिनको आइसु रुमको १५ हजार रुपैयाँ लिएको छ भने बारम्बार डाक्टर भिजिटको नाममा हजारौं रुपैयाँ कुम्ल्याएको छ ।
अस्पतालले विपन्न वर्गलाई निःशुल्क रुपमा उपचार गर्ने सार्वजनिक घोषणालाई समेत लत्याएर ठूलो परिमाणमा कोरोना भाइरसको महामारीको बेलामा समेत पैसालाई नै मुल उद्देश्य बनाएपछि सो हस्पिटलको भविष्यमाथि प्रश्न चिन्ह खडा हुन थालेको छ । हालै मात्र एक सामाजिक संस्थाले लाखौं पर्ने भेन्टिलेटर अस्पताललाई दान दिएको भएपनि त्यसको समेत परवाह नगरी लाखौंँ रकम उठाउन थालेपछि नीजि संस्थाप्रति सर्वसाधारणको विश्वास गुमेको हो ।
अझ अस्पतालले फिजिओथेरापि गराएको १ हजार, आइसोलेशनमा विरामी हेरेको २४ हजार, रुम भिजिट गरेको १४ हजार, टेलिफोनमार्फत परामर्श गरेको २१ हजार, लगायत शिर्षकमा झण्डै २ लाख ९४ हजारको बिल बनाएर केहि प्रतिशत छुट गरेको देखिएको छ । यसरी सो हस्पिटलले गरेको बदमासीका बारेमा अब नियमन निकायले अविलम्ब निगरानी गर्नुपर्ने भएको छ ।