बिरगंज , जेठ १२


सरकारद्वरा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि पछिल्लो पटक वीरगन्ज अनावश्यक चर्चामा आएको छ। कोरोना भाइरस संक्रमण न्युनीकरणका लागि जारी निषेधाज्ञाकाबीच वीरगन्जमा जिल्ला प्रसाशन कर्यालयमा नागरिकता लिनेको भिड रहेको र त्यसमा भारतीय नागरिकहरु पनि सामेल रहेको भनी समाजिक संजालमा आएको कुरा गलत रहेको भनी जिल्ला प्रसाशनले विज्ञप्ति नै निकाल्नु परेको हो।‘यस कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७८ बैशाख १६ गतेदेखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हालसम्म जारी रहेको छ। निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ। तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ।’सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा रहेको प्रष्ट्याइएको छ। ‘यस बीचमा निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ,’ उल्लेख गरिएको छ।

