बीरगंज , जेठ १३
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीब्ररुपमा विश्व लगायत हाम्रो देश नेपालमा बढिरहेको हुनाले पर्सा जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । भारतसँग जोडिएका सबै सीमानाका बन्द गरिएको छ ।

तर जनताको जीउज्यानसँग खेलवाड गर्दै घुसको लोभमा परी सङ्क्रमणको वास्ता नै नगरी पकाहाँ मैनपुरबाट निर्वाध रुपमा दिनरात तस्करी हुँदै आएको छ ।सरकारले निषेधाज्ञा जारी हुन लगतै सीमानाका बन्द गरे पनि सशस्त्र प्रहरी बल पकाहाँ मैनपुर बीओपीका निरीक्षक अमृत केसीले तस्करलाई खुल्लमखुल्ला सामान ओसारपसार गर्न छुट दिएका छन् ।

निषेधाज्ञाका बीचमा भारतबाट विभिन्न खालका कपडा, सूर्तिजन्य पदार्थ, खाद्यान्न सामग्रीहरु, हाडवेयर, मेशिनरी पाट्र्स, इलेक्ट्रोनिक्स सामान, मोटसपार्टस् भैंसी भारतबाट तस्करी हुने साथै नेपालबाट डिजेल पेट्रोलको तस्करीको क्रम झन बढेको छ । भारतबाट ल्याएको तस्करीको समान पर्साको पकाहाँ, पोखरिया बजार, बहुअर्वा, बिन्दबासनी, महूवन, जस्ता ठाउँहरुमा पुग्ने गरेको छ ।

बीओपीको संरक्षणमा नेपालबाट भारततर्फ डिजेल, पेट्रोल, मदिराको तस्करी भइरहेको छ । सीमा नाका बन्द गरिसकेपछि सशस्त्र प्रहरीकै मिलेमतोमा पकहा मैनपुर नाकाबाट दैनिक लाखौं मूल्य बराबरको सामग्रीको तस्करी भइरहेको छ।पकहा मैनपुर बीओपी अन्तर्गत पर्ने धोरे सीमानाकाबाट डिउटी खटिने ससस्त्र प्रहरी परीक्षण पासवानले सिमानाका बन्द भए पनि तस्करहरुबाट एउटा मोटरसाइकलमा रू १०० लिई भारतबाट नेपाल र नेपालबाट भारत पठाउने र पैसा नदिने व्यक्तिलाई लाठीले हिरकाई फर्काउने गरेको नाम नखोल्ने शर्तमा एक जना स्थानीयले बताए।

साथै यस भन्दा अगाडि सीमानाकामा मात्र पैसाको लोभमा परि काम गरेको भन्दै भारतको भेलाहिमा पासवानले सामना किन्न जाँदा भारतीयहरुले बजारमा घेरी कुटपिट पनि गरेका थिए। पासवानले कमाण्डरको पनि कुरा काट्दै आफ्नो मनपरी सीमानाकामा तस्करी गराई रहेको स्थानीयले बताए छन।निषेधाज्ञाका अवधिमा राति राति नेपाालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी भइरहेको छ। जनता महामारीमा घरभित्रै बसिरहेको बेला सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी खुलेआम रूपमा भइरहेको छ।

त्यहाँका स्थानीय तस्करहरुले बीओपीका इन्चार्ज केसीलाई दस्तुरी बुझाइ तस्करी गर्ने गरेका छन् । छिमेकी मुलुक भारतमा प्रतिदिन कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । पर्सा पनि कोरोना महामारीबाट अछुतो छैन । पर्सा र भारत पनि कोरोनाको हटस्पट बन्दै गएका कारणले नेपाल र भारतको सीमानाकामा पूर्णरुपले आवतजावतसम्म बन्द हुनेगरी बोर्डर सिल गर्न निर्देशन दिए पनि त्यो आदेशलाई लत्याउँदै पकाहा मैनपुर बीओपी इन्चार्ज केसी लगायतका प्रहरी जवान परिक्षण थापा श्याम लिगलले धोरे नाका हुँदै तस्करीलाई निर्वाध छुट दिएका छन् ।तस्करीको यो सिलसिला नरोकिए पर्साका हरेक ठाउँका घरघरमा कोरोना संक्रमण फैलिने खतरा देखिएको छ । पकाहाँ मैनपुरका स्थानीयबासीका अनुसार डिजेल र पेट्रोल साइकल र मोटरसाइकलमा लोड गरी ठूलो संख्यामा नेपालवाट भारततर्फ दिनहुँ सशस्त्र प्रहरीकै सहयोगले तस्करी हुने गरेको छ ।माथिल्लो निकायलाई पनि बुझाउनुपर्छ भन्दै सशस्त्रको १३ नं गणका गणपति राजेन्द्र खड्काको नाममा समेत मासिक ठूलो रकम तस्करहरुबाट बीओपी इन्चार्ज अमृत केसीले उठाउने गरेका छन्।

मुलुकका सीमानाकाबाट हुने गरेको तस्करी बन्द गराउने र देशको अर्थतन्त्र बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरीभित्र रहेका यस्ता छविका प्रहरीले गर्दा नै संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाईखाने भाँडो बनाउने गरिएको छ ।स्थानीयलाई कोरोनाका कारण सिमानाकामा कडाई गरेपनि तस्करलाई भन्ने मुद्रा मोचनका कारण छुट दिएको छ।यस्ता गतिविधि तर्फ छिटो भन्दा छिटो ध्यान जान अति आवश्यक देखिएको छ।