

वीरगञ्ज, जेठ १७
कोरोना महामारीमा पत्रकारहरूको सहयोगार्थ नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको राहत कोषमा सोमबार दुईवटा स्थानिय तहबाट सहयोग प्राप्त भएको छ । वीरगञ्ज महानगरपालिका र जिराभवानी गाउँपालिकाले नेपाल पत्रकार महासंघ पर्साको राहत कोषमा सहयोग प्रदान गरेको हो । वीरगञ्ज महानगरले १ लाख र जिराभवानी गाउपालिकाले २५ हजारको चेक शाखालाई हस्तान्तरण गरेको छ । महानगरका प्रमुख बिजय सरावगीले महासंघका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष संजिव मिश्रालाई चेक हस्तान्तरण गर्नु भएको हो । यसैगरि जिराभवानी गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत प्राण मेहता र लेखापाल लक्ष्मण गौतमले महासंघको सभाहलमा अध्यक्ष तिवारीलाई सहयोगको चेक प्रदान गरेका थिए । सो अवसरमा पत्रकार महासंघका उपाध्यक्ष सुष्मा शर्मा, सचिव भूषण यादव, कोषाध्यक्ष संजिव मिश्रा, प्रदेश सभासद प्रकाश तिवारी लगायतको उपस्थिति रहेको थियो । यसैगरी, प्रदेश २ मिडिया काउन्सिल र मिडिया प्राधिकरणले पर्सा शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश २ मिडिया काउन्सिलका अध्यक्ष शिवहरिप्रसाद भट्टराईले आमसञ्चार माध्यममा कार्यरत पत्रकारलाई कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाएका छन् । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शाखामा कार्यरत पत्रकारहरूलाई सहयोग होस् भनेर ५० थान सर्जिकल मास्क, १० पिस केएन–९५ मास्क, २ थान सेनिटाइजर, पञ्जा, फेसशिल्ड, अक्सिमिटर, थर्मलगनसमेत अध्यक्ष तिवारीलाई हस्तान्तरण गरेका थिए ।