बिरगंज , जेठ १९
पर्साको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गालि गलौज तथा आपतिजनक शब्दहरुको प्रयोग गरी चरित्रहत्या गर्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी २४ वर्षीय सौरभ साह रहेका छन् ।
आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बताउने साहले वाई.ओ.वि फेसबुक मार्फत स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर गर्ने अभियोगमा उनलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।
वीरगंज नगर क्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि आफ्नो फेसबुक पेज तथा फेसबुक म्यासेन्जर मार्फत पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानून विपरीत क्रियाकलाप गरेको आरोपमा नेपाल चिकित्सक संघ तथा विभिन्न चिकित्सकहरुको जाहेरीको आधारमा उनलाई पक्राउ गरि थप अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
अभियुक्तलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा आज अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।