बिरगंज , जेठ २१
धानको बीउ राखेको ब्याडमा पानी लगाउन गएका पर्साको ठोरी गापा-३ का एक पुरुष शुक्रवार बिहानै भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका छन्। बिहान सबेरै धानको ब्याडमा पानी लगाउन गाउँ नजिकैको सामुदायिक वनमा गएका ब्रम्हानगरका ४७ वर्षीय बिष्णु घिमिरेलाई भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको छ।
बिहान करीब ६ बजे ब्रम्हानगरबाट करीब २०/२५ मिनेटको पैदल दुरीमा पर्ने बेदघारी सामुदायिक वनभित्र रहेको सिँचाइ कुलोको मुहान गाउँतर्फ फर्काउन एक्लै गएका घिमिरेलाई अकास्मात २ ओटा भालुले आक्रमण गरेको थियो। कुलो फर्काउन लाग्ने क्रममा मुहान नजिकै रहेको भालुले आक्रमण गर्दा घाइते भएका घिमिरेको टाउको र तिघ्रामा गम्भीर चोट लागेको छ।
उनलाई विजयवस्तीमा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बीरगंज लगिएको छ। बितेको बैशाख २९ गते ठोरी ३ ,रामनगरका एक दम्पती भालुको आक्रमणमा परेर घाइते भएका थिए भने त्यसको २ दिनपछि ठोरी ४ , ठाडोलाईनका ७१ वर्षीय वृद्धालाई समेत भालुले आक्रमण गरेर घाइते बनाएको थियो।