इटहरीमा रहेका यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालय क्षेत्रबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा नक्कली डाक्टरसहित १७ जनालाई नियन्त्रणमा लिइएको छ।
यातायात व्यवस्था कार्यालय (सवारी) र इटहरी सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयँलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीको गुनासो बढेपछि फूयँलकै नेतृत्वमा अनुगमन गरिएको हो।
पक्राउ पर्नेमा नक्कली डाक्टर, बिचौलिया र लेखापढी गर्ने गरेको खुलेको छ। अहिले पक्राउ परेका सबै जनाको नाम पहिचान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए। उनका अनुसार सबै जनाको पहिचान भइसकेपछि प्रारम्भिक अनुसन्धान गरेर दोषीलाई मुद्दा चलाइनेछ।
इटहरीमा कोशी प्रदेशस्तरीय यातायात व्यवस्था सवारी कार्यालय र सवारी चालक अनुमति कार्यालय रहेका छन्। यी कार्यालयमा बिचौलिया समूहले सेवाग्राहीलाई विभिन्न बाहनामा ठगी गर्ने गरेका छन्।