वीरगन्ज ४ कार्तिक : वीरगन्जबाट बरामद गरेको करीब २३ किलो सुन र चाँदीका गहनाहरू आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ । पर्सा प्रहरीको टोली पथलैया पुगेर कागजी प्रक्रिया पूरा गरेर अनुसन्धान कार्यालयलाई सुन बुझाएको प्रहरी उपरीक्ष्ँक गंगा पन्तले जानकारी गराइन् । दुई दिनअघि वीरगन्ज–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नं फ्लाटबाट करीब २३ किलो सुन र २.२६२ किलोग्राम चाँदीका गहना, भाँडाकँुडा बरामद भएको थियो। विशेष सूचनाको आधारमा प्रहरीले शुक्रवार मध्याह्न १२ देखि २ बजेसम्म चलेको छापामारीमा ठूलो परिमाणमा सुन बरामद गरेको थियो । प्रहरीले सुन चाँदी व्यवसायी संघ पर्साबाट सुन चाँदी चेकजाँच गर्ने विशेषज्ञ बोलाई परीक्षण गराउँदा बरामद गरिएका सुन र चाँदी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको हो । बरामद सुनमा १ किलो दरका १३ वटा बिस्कुट, सुनको बिस्कुट मझौला फाइभ टिएइएलएस ९९९९ सुन ४६ थान (८ किलो ५७६ ग्राम), सय ग्रामको सानो सुनको बिस्कुट १० थान (१ किलो), सुनका विभिन्न गरगहना (६८१ ग्राम) गरी २३ किलो २५७ ग्राम सुन बरामद भएको थियो। भारत रक्सौल कस्टमका क्लियरिङ एजेन्ट अशोक सिन्हाको छोरी वीरगन्ज–२ निवासी निवेदिका सिन्हाको नाममा उक्त फ्ल्याट दर्ता रहेको प्रहरीले जनाएको छ ।

