कलैया , जेठ ३०


जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध ओसारपसारमा संलग्न बीरगन्जका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं बस्ने २० वर्षीय शाहरुख अन्सारी र वडा नम्बर ३२ बदननगर बस्ने २६ वर्षीय ग्याँसुद्दिन मियाँ रहेका छन् ।भारतबाट अवैध रुपमा भित्र्याएको लागुऔषध लिएर जादैं गरेको अवस्थामा दुवैलाई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित सडकखण्डमा नियमित सवारी चेकजाँच गर्नेक्रममा पक्राउ परेको हो ।शनिबार दिउँसो शाहरुखले चलाएको बिआर २२ डी ४१४४ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेक गर्दा पछाडि सिटमा बाँधेर राखिएको हरियो रङ्गको प्लाष्टिकको बोराबाट १०० एमएलको वनरेक्स २ सय ३० बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।त्यसैगरी, शनिबार नै ग्याँसुद्दिनले चलाएको बा. १५ प १७५२ नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको १०० एमएलको वनरेक्स ५ बोतल र नाईट्राभेट–१० लेखिएको ट्याबलेट ७२ पिस ट्याबलेट फेला परेको बारा प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बारा प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

