

रौतहट ,असार ३
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ६ स्थित भकुवा खोलामा बिगत ५ वर्ष देखि निर्माण हुँदै आइरहेको आरसीसी पुल तेस्रोपटकमा सम्म रोसन कंस्ट्रक्सनले निर्माण गर्न नसकेकाले स्थानीय बासिनदाहरूले चिन्ता व्यक्त गरेका छन्। साबिक पथरा बूधराम गा. वि. स. अन्तर्गत पर्ने भकूवा खोलामा पूल निर्माण गरी सहज रूपमा यातायात संचालन गर्ने उदेश्यले रौतहट क्षेत्र नं ३ का तत्कालिन सांसद मा. प्रभु साह द्वारा वि.सं २०७३ सालमा शिलान्यास गरिएको पुल हाल सम्म पनि पटक पटक निर्माणका बावजूद पनि निर्माण कार्य असफल रहेको देखिएको छ।उक्त पूल पहिलो चोटि निर्माण गर्दा निर्माणाधिन अबस्थामै भुई ढलान र दुईवटा पिलर २०७४ को बाढीले बगाएको थियो ।दोस्रोपटक निर्माण कार्य पूरा भए पनि पूल बिचबाट बिम र छत चर्किएका कारण यो पुललाई पास हुन बाट रोका गरिएको थियो। हाल चर्किएको अबस्थामा रहेको पुललाई पूर्णरुपले भत्काई तेस्रोपटक निर्माण कार्य अगाडी बढाइएको छ ।तेस्रोपटक निर्माण पनि ढिला सुस्तिका साथ काम अगाडि बढीरहेको भनि स्थानीयको गुनासो रहेको छ ।तेस्रोपटकको आरसीसी पुल निर्माणका लागि रु ५ करोड़ ६७ लाख ४३ हजारको बजेट विनियोजन भएको पूलको रौसन कंस्ट्रक्सनले ठेक्का लिएको हो । पुल निर्माणको अन्तिम म्याद वि.सं २०७८ साउन २४ गते सम्म रहेको भए पनि उल्लेखित समय भित्र निर्माण कार्य सम्पन्न नहुने देखिएको छ । निर्माण समय धेरै कम देखिए पनि सुस्त निर्माण कार्यका कारण यस्तो समस्या आएको भन्दै एउटा स्थानीयले गुनासो गरेका छन्।भकुवा खोलामा फलामको झुलुङ्गे पुल साँघुरो रहे पनि उक्त पुल पैदल यात्रिका लागि मात्रै रहेको देखिन्छ। उक्त झुलुङ्गे पुलको वरिपरिका माटो कटानमा परेका कारण उक्त पुल पनि पूर्णरूपमा ठप्प भएको छ।भकुवा खोलामा दुईवटा होमपाईप लगाईएको भए पनि हरेक वर्ष खोलामा बाढी आउँदा बगाएर लग्ने गरेको छ ।पाथरा गाउँका अधिकांश किसानहरूको खेती योग्य जग्गा भकुवा पारी नै रहेकोले वर्षातको समयमा सबारी साधन ओहोर दोहर लगायत बीउ बिजन इत्यादि कृषि समाग्रिहरुको ओसार पसारमा समेत पूर्णरुपले अवरुद्ध हुने गरेकोले विशेष गरी वर्षायाममा यहाँका सर्वसाधारण तथा किसानहरूले सास्ती खेप्दै आइरहेका छन्। आरसीसी पुल रौतहट जिल्लाका अधिकांश ठाउँमा असफल रहेपनि पटक पटक यसै ढाँचाको पुल निर्माण गरि किसानलाई हैरान पार्ने कुनै राजनीतिक षड्यन्त्र त होइन? भन्दै याहाँको एक किसानले शंका व्यक्त गरेका छन्।उक्त पुल द्रुतगतिमा निर्माण कार्य सम्पन्न या कुनै वैकल्पिक उपाय गरि दिनको लागि याहाँका स्थानीयहरूले अपिल गरेका छन्।दुबै तर्फ पिच बाटो भए पनि पूल निर्माण नभएका कारण सर्वसाधारणले सास्ती भोग्दै आई रहेका छन भने एउटै पूल पटक पटक निर्माण गर्दा जनताको कर तथा समय नष्ट हुँदै आई रहेको छ ।