पर्सा , असार ३


पर्सा जिल्लाको पर्सागढी नगरपालिका कार्यालयको भवन निर्माणमा कमसल निर्माण सामग्री प्रयोग भएको पाइएको छ । पर्सागढी नगरपालिका–८ हरपुरमा निर्माण भइरहेको अढाइ तले पक्की भवनमा अहिले प्रयोग भइरहेको निर्माण सामग्री मध्ये बालुवा, ग्रेभल, इटा सम्झौता विपरीत कमसल प्रयोग भएको पाइएको छ । भवनमा प्रयोग भएका इटा मध्ये लिन्टर सम्मको प्रयोगमा २५ प्रतिशत दुई नम्बर इटा प्रयोग भएको छ भने बालुवा र गिट्टी पनि मापदण्डविपरीत माटो मिसिएको पाइएको छ ।निर्माण स्थलमा राखिएको यी सामग्रीलाई जोकोहीले हेर्दा कमसल भएको ठहर गर्न सक्छन् । ३ करोड ६६ लाख लागतमा स्वछन्द निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का सकार गरेको र यसको स्थानीय प्रतिनिधि दिनेश कुशवाहाले रेखदेख गर्दैछन् । कमसल सामग्री प्रयोग भएको सन्दर्भमा नगरपालिकाका इन्जिनीयर विजय सिंहले प्रयोगशालामा परीक्ष्ँण गरेर निर्माण सामग्रीको प्रयोग भइरहेको दावी गरे । तर उनले दावी गरे अनुसारको निर्माण स्थलमा सामग्रीको प्रयोग भएको पाइएको छैन । स्थानीयहरुले नगरपालिका कार्यालय जस्तो जिम्मेवार संस्थाको भवन निर्माणमा कमसल सामग्री प्रयोग गरिएकोमा चिन्ता जाहेर गरेका छन् । उनीहरुले नगरपालिकाको भवनमा अनियमितता हुन्छ भने त्यस अन्तर्गत बन्ने विकास निर्माणमा कतिको भद्रगोल हुन्छ भन्ने सहज अनुमान गर्न सकिने टिप्पणी गरेका छन् । स्वच्छन्द निर्माण सेवाका प्रतिनिधि दिनेश कुशवाहाले भने कमसल निर्माण सामग्री प्रयोग नभएको धम्कीपूर्ण भाषामा बताएका छन् ।