देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।
“ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१के उडान भयो,” युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।
यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड संख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।
क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी सहर मिकोलाइभमा पाँचजनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एकजनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
“पाँचजनाको मृत्यु भएको छ,” मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखे । यसअघि चारजनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।