वीरगञ्ज , असार १०


वीरगञ्जमा सरकार विरुद्ध प्रदर्शनमा उत्रेको कारण पक्राउ परेका ४ जना विद्यार्थी नेतामध्ये ३ जनालाई रिहा गरिएको छ ।संसद् विघटन र निर्वाचन घोषणा विरुद्धमा संयुक्त मोर्चा बनाएर आन्दोलनमा उत्रेका विभिन्न पार्टीका विद्यार्थी नेताहरुलाई पर्सा प्रहरीले बिहिबार दिउँसो वीरगञ्जको घण्टाघर चोकबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ता, महानगर कमिटि अध्यक्ष विवेक कुमार साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पेटल र विशाल पटेल रहेका छन् । तर ति मध्ये नेविसंघका पूर्व केन्द्रीय सदस्य पटेल बाहेक अन्य सबैलाई रिहा गरिएको छ ।प्रहरीले अन्य नेतालाई रिहा गरेपनि पटेललाई हिरासतमै राखिएको कारण भने खुल्न सकेको छैन । नेता पटेलले भने हिरासतमै आमरण अनसन सुरु गरेको छन् । उनले आफुलाई बिना कारण हिरासतमा राखिएको कारण आफु आमरण अनसनमा बसेको बताए ।'अन्यलाई छोडीएपनि मलाई हिरासतमा राखिराख्नुले गलत हो । मलाई मेरो संवैधानिक अधिकारलाई कुण्ठित गरेर हिरासत राखिएको कारण मैले आमरण अनसन सुरु गरेको छ । मलाई बिनासर्त रिहा नगरेसम्म मेरो अनसन जारी रहने छ,' पटेलले भने ।अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ताले पनि पटेललाई हिरासतमा राख्नु गलत भएको बताए । उनले भने, 'हामीलाई केहि समय पछि रिहा गरिएपनि सुधिर जीलाई अहिलेसम्म पक्राउ गरेर राखेका छन् । एउटै कारणले सबैलाई पक्राउ गरिएपनि हामीलाई छोडेर उनलाई पक्राउ गरेर राखी राख्नु गलत हो । हामी प्रहरीसँग छलफल गर्दै छौँ ।'