बारा । बारा प्रहरीले बिलबिजकबिनाको एक लाख १२ हजार रुपैयाँ बराबरको ७० किलो काजु बरामद गरेको छ।
प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा चेकजाँचका क्रममा काजु बरामद गरेको हो। कटारीबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६७२३ नम्बरको यात्रु बसमा लोड गरिएको सो काजु बिना बिलबिजक लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
बरामद गरिएको काजु राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले यसबारे जानकारी दिँदै काजु तस्करी रोकथाम गर्न प्रहरीले निगरानी कडा बनाएको बताए।
अवैध रूपमा लैजान खोजिएको काजु सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।