वीरगञ्ज । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोप लागेका लामिछानेलाई बयानका लागि वीरगञ्ज ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको आग्रहमा पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि उनलाई वीरगञ्ज ल्याइएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको प्रहरीको टोली लामिछानेलाई लिन सिमरा बिमानस्थल पुगेको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा बयान लिइने छ ।
यसैबिच वीरगञ्जमा लामिछानेको रिहाइको माग गर्दै रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वमा रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा उनको रिहाइको माग गर्दै प्रदर्शन गरिएको पन्तले बताए ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले रवि लामिछानेको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए । रास्वपाका स्थानीय कार्यकर्ताहरूले लामिछानेमाथि गरिएको कानुनी कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनीप्रति राजनीतिक पूर्वाग्रह देखाइएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भएको प्रदर्शनमा सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
वीरगञ्जमा बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा फर्काइने प्रहरी स्रोतले जानकारी दिएको छ ।