

सप्तरी,कात्तिक ११
सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत भएकी छिन् । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।सप्तरीको तिरहुत गाउँपालिकानिवासी १८ वर्षीया दलित किशोरी बलात्कृत भएकी हुन् । गत शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएका दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् भने उनीसँगै गएकी अर्का किशोरी हस्याङ(फस्याङ गर्दै घरतर्फ आइरहेको अवस्था भेटिएको बताइन् ।पीडित दुवै किशोरीकी आमाले सोमबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।दुईजना किशोरीमध्ये एकजनालाई जबर्जस्ती करणी भएको र एकजनालाई प्रयास मात्रै भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए ।घटनामा संलग्नमध्ये एकजना सुनिलकुमार साहलाई पक्राउ गरेर कारबाही अघि बढाइएको र घटनामा संलग्न थप अभियुक्तको खोजी भइरहेको डिएसपी सिंहले बताए ।डिएसपी सिंहका अनुसार इप्रका कञ्चनपुरमा तीन महिनामा ६ वटा बलात्कारको घटना दर्ता भएका छन् ।दलित सरोकार मञ्च नेपालका अध्यक्ष युक्तिलाल मरिक डोमले दलित समुदायका किशोरीको हत्या र बलात्कारको घटना बढेको बताए । प्रदेश २ मा दलितमाथि हत्या र बलात्कारका घटना बढिरहेको भन्दै यो समुदाय निरन्तर आन्दोलनरत छ ।