वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराउन सक्रिय कदम चालेको छ । आइतबार महानगरपालिकाको डोजर प्रयोग गर्दै उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन थालिएको छ ।
महानगरपालिकाले यसअघि दुई पटक सूचना जारी गरी जग्गा खाली गराउन प्रयास गरेको थियो । पहिलो पटक गत मङ्सिर २६ गते १५ दिनको समयसहित अल्टिमेटम जारी गरिएको थियो । उक्त समयसीमा समाप्त भए पनि काम नगरेपछि पुस १२ गते पुनः ७ दिनको अल्टिमेटमसहित दोस्रो सूचना जारी गरिएको थियो ।
महानगर प्रमुखका सल्लाहकार हरि श्रेष्ठका अनुसार, बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिनेछ । आज पहिलो चरणमा उत्तर पट्टिको अतिक्रमण हटाइएको र भोली महानगरको डोजर दक्षिण तर्फको अतिक्रमण हटाउँदै जाने श्रेष्ठको भनाइ छ । उनले भने, “विकास निर्माणका लागि जनताबाट सहकार्य अपेक्षित छ, र यसका लागि उक्त क्षेत्रमा रहेको बजार हटाउनु आवश्यक थियो ।”
पार्क निर्माणको माध्यमबाट स्थानीयले हरियाली वातावरण र मनोरञ्जनको नयाँ अवसर पाउने महानगरका प्रमुख राजेशमान सिंहको दाबी छ । महानगरपालिकाको प्रारम्भिक योजना अनुसार, पार्कभित्र मनोरञ्जनात्मक गतिविधिहरू, खेलकुदको व्यवस्थापन, र वरिष्ठ नागरिकहरूको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने प्रमुख सिंहले जानकारी दिए ।
प्रमुख सिंहले आफ्नो प्रयासमा साथ दिन स्थानीयहरूसँग आग्रह पनि गरेका छन् । विकास निर्माणका कामले दीर्घकालीन लाभ पुर्याउने भन्दै महानगरका प्रमुख उनले आवश्यक सहकार्यका लागि पुनः अपिल गरेका छन् ।
महानगरको यस कदमले स्थानीय बासिन्दाहरूसँग अन्योल थपिएको छ । उक्त क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आइरहेका विशेषतः दलित समुदायका व्यक्तिहरूले आफ्नो व्यवस्थापनबारे गुनासो गरेका छन् । उनीहरूले उचित विकल्पको व्यवस्थापन गर्न माग समेत गरेका छन् ।
यस कार्यले महानगरको समग्र रूपान्तरण योजनामा ठूलो योगदान दिने विश्वास महानगरको छ । तर स्थानीयहरूको समस्या सम्बोधन गर्न आवश्यक पहल नगर्ने हो भने असन्तुष्टि थप गहिरिने देखिन्छ ।