कन्हैया पटेल/बिरगंज । वीरगन्जमा निर्माणाधिन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक जना दाताले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान दिएका छन् ।वीरगन्जमै स्थायी घर भई स्वास्थ्य क्षेत्रमा कार्यरत ती व्याक्तिले मानव सेवा आश्रमको भवन निर्माणका लागि आफ्नो व्याीक्तगत तर्फबाट ५ लाख ११ हजार रुपैयाँ गोप्यदान दिएर सहयोग गरेको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता मानवसेवाले जानकारी दिए ।
आफ्नो पहिचान गोप्य राखिदिन आग्रह गर्दै ती दाताले सोमबार मानव सेवा आश्रम वीरगन्जका अभिभावक तथा भवन निर्माण समितिका संयोजक प्रकाश थारुलाई चेक प्रदान गरेको गुप्ताले बताए । भवन निर्माणका लागि आँफुले ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उनले सोमबार २ लाख ११ हजार रुपैयाँको चेक थारुलाई प्रदान गरेको र बाँकी ३ लाख रुपैयाँपनि केहि दिनमै दिने बताएको गुप्ताले जानकारी दिए ।
नेपाललाई सडक मानवमुक्त देश बनाउने अभियानमा सकृय मानव सेवा आश्रम वीरगन्ज शाखा अहिले प्रदेश सभा सदस्य रमेश कुर्मीले बनाएको धर्मशालामा सञ्चालित छ । त्यहाँ हाल ५५ जना लक्षमीनारायणहरुलाई राखिएको गुप्ताले बताए ।